थाहा– मकवानपुरको थाहा नगरपालिकाले ४ जना शिक्षकहरुलाई स्वेक्षिक अवकास दिएको छ । नगरपालिकाले लामो समय शिक्षण पेशा गर्नुभएका नगरका ४ जना शिक्षकलाई नगद सहित स्वेच्छिक अवकास प्रदान गरेको हो ।
चालीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा दीर्घसेवी शिक्षक एवं उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान कार्यक्रमको आयोजना गरेर थियो । “हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणली सबलिकरण” भन्ने नाराको साथमा थाहा नगरपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा ४ जना शिक्षकलाई ‘स्वर्णिम स्वेच्छिक अवकाश’ योजना अन्तर्गत दीर्घसेवी शिक्षक सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सम्मानीतहरुलाई नगद तथा सम्मान पत्रद्धारा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा ४१ वर्ष शिक्षण सेवा गर्नुएका थाहा–२ का दीपेन्द्रराज प्रधान, ३० वर्ष शिक्षण सेवामा लाग्ग्नुभएका थाहा–३ का ध्रुब सिंह विष्ट, २९ वर्ष शिक्षण सेवा गर्नुभएका हेटौंडाका राजेश शर्मा पौड्याल र ३१ वर्ष शिक्षण पेसामा सेवा गर्नुभएका थाहा–२ का भुपेन्द्र कुमार हमाल ठकुरीलाइ नगद १ लाख रुपैयाँ सहित स्वर्ण पदक, कदर पत्र र खादाद्धारा सम्मान सहित अवकास प्रदान गरिएको हो ।
कार्यक्रम मार्फत २०७५ सालको एस.ई.ई.को नतिजामा उत्कृष्ट जिपिए ल्याउन सफल सामुदायिक र संस्थागत दुबै विद्यालयका छात्र, छात्रा, विषयशिक्षक र उत्कृष्ट विद्यालयलाई समेत सम्मान गरिएको थियो । सामुदायिक तर्फ २.८१ जि.पि.ए ल्याएर सुनौला मा.वि. प्रथम भएको छ भने २.५ जि.पि.ए ल्याएर स्वच्छन्द भैरव मा.वि द्वितीय भएको छ । यस्तै संस्थागत तर्फ २.९८ जि.पि.ए सहित इ–अन एकेडेमी प्रथम तथा २.८८ जि.पि.ए सहित पालुङ इङ्गलिस स्कुल द्वितीय हुन सफल भएको छ । विद्यालयहरुलाई पनि नगद तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
त्यस्तै थाहा नगरपालिका भित्रका विद्यालयका प्रद्यानाध्यापकहरु मध्ये सुनौला मा.वि. का कृष्ण प्रसाद लामिछानेलाई उत्कृष्ट प्र.अको रुपमा सम्मानित गरिएको थियो । कार्यक्रममा एस.ई.ई.को नतिजामा उत्कृष्ट जिपिए ल्याउन सफल विभिन्न विद्यालयका छात्र तथा छात्राहरुलाई समेत सम्मानित गरिएको थियो ।