मकवानपुर । अत्यधिक गर्मीका कारण मकवानपुरका पाँच वटा स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । अत्यधिक गर्मी बढेका कारण सदरमुकाम हेटौंडासहित जिल्लाको पाँच स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।
अत्यधिक गर्मी भएपछी बालबालिकालाई पठन पाठनमा समस्या भएपछि जिल्लाको हेटौंडा उपमहानगरपालिकासहित मनहरी, राक्सिराङ, मकवानपुरगढी र बकैया गाउँपालिकाले आगामी २६ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रतिकूल असर पर्नुका साथै कतिपय बालबालिकाको स्वाथ्यमा समेत समस्या देखिएपछि वर्षे बिदाबाट कट्टा हुनेगरी विदा दिइएको बताईएको छ । पालिकाहरुले सूचना जारी गर्दै विद्यालय विदा दिने निर्णय गरेका छन् ।
पालिकाहरुले सूचना मार्फत विदाको अवधिमा बालबालिकालाई घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षित रुपमा रहने व्यवस्था मिलाउन अविभावकहरुलाई आग्रह समेत गरेका छन् । यस्तै बालबालिकाहरुलाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्ने, पोषणयुक्त खाना खुवाउने, जंकफुड, स्वास्थ्य लाई प्रतिकुल असर गर्ने खानेकुराहरु खान नखुवाउने र स्वच्छ खानेकुराहरु मात्रै खुवाउन सुझाव समेत दिएका छन् ।