मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा कोरोनाबाट प्रभावित दैनिक गुजारा गर्न (छाक बसेका) श्रमजीवि तथा विपन्न नागरिककलाई लक्षित गरेर गत भदौ १५ गतेबाट सञ्चालन गरेको खाद्य आदान प्रदान कार्यक्रमको स्वरुप र स्थान परिर्वतन हुने भएको छ । आज बसेको फाउण्डेसनको बैठकले “हुनेले दिएर जाँउ, नहुनेले लिएर जाँउ” भन्ने नारासहित सञ्चाालित अभियानको स्वरुप र हाल सञ्चालन भइरहेको स्थान परिर्वतन गर्दै निरन्तरता दिने निर्णय गरेको हो ।
फाउण्डेसनका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले यसअघि हेटौंडा–४ अटोल्याण्ड चोक स्थित कपुर कमप्लेसबाट संचालन गरेको कार्यक्रम शनिबारबाट हेटौंडा–१०, स्थित वन विज्ञान अध्यन संस्थानबाट सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबारबाट हेटौंडामा निषेधाज्ञा खुकुलो पार्ने प्रशासनको निर्णयसंगै बजार क्षेत्रमा चहलपहल बढ्ने तथा अहिले कार्यक्रम सञ्चालन भईरहेको स्थानमा भिडभाड हुन सक्ने अनुमान गर्दै हेटौंडा–१० स्थित अहिले होल्डिङ् स्टेसन सञ्चालन भएको स्थानबाट कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको फाउण्डेसनका अध्यक्ष खुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरेको अभियानको स्वरुप परिर्वतन गर्ने निर्णय गरेको छ । बैठकले अभियान मार्फत कोरोना संक्रमण भएर होम आइसोलेसन÷क्वारेन्टाईनमा बस्नुभएका तथा विभिन्न स्थानीय तहहरुमा सञ्चालित आइसोलेसन÷क्वारेन्टाईनमा बस्नु भएकाहरुलाई समेत सहयोग प्रदान गर्ने निर्णय गरेको अध्यक्ष खुलालले जानकारी दिनुभयो । होम आइसोलेसन÷क्वारेन्टाईनमा तथा विभिन्न स्थानीय तहहरुमा सञ्चालित आइसोलेसन÷क्वारेन्टाईनमा बस्नु भएकाहरुलाई प्रोटिनयुक्त खाद्यान्न तथा चामल दाललगायतका खाद्यान्न सहयोग गर्ने निर्णय गरेको उहाँले जानाकारी दिनुभयो ।
त्यस्तै बैठकले खाद्य आदान प्रदान कार्यक्रम सञ्चालनका लागि स्थान उपलब्ध गराउनुहुने कपुर कमप्लेसका सञ्चालक दिपेन्द्र सिंह ठकुरीलगायत, खाद्यान्न सहयोग उपलब्ध गराउनुहुने दाताहरु, खाद्य आदान प्रदान कार्यक्रमका व्यवस्थापन उपसमिति, स्वयमसेवकलगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ । खाद्य आदान प्रदान कार्यक्रम मार्फत बिगत ११ दिनमा ८७६ जनालाई खाद्यान्न सहयोग उपलब्ध गराईएको छ । बैठकमा मदन भण्डारी फाउण्डेसनका बागमती प्रदेश सदस्य एकलाल श्रेष्ठ, फाउण्डेसन मकवानपुरका काेषाध्यक्ष लक्षमण भण्डारी, सचिव आशाकाजी श्रेष्ठ, सदस्यहरू भवानी प्रसाद शर्मा, बाेलबहादुर कार्की, रमिला सापकाेटा, शिवहरी दाहाललगायतकाे सहभागिता थियाे ।