file photo

काठमाडौँ – मुलुककै ठुलो एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन लगायतका विषयमा छलफल हुनेछ । पार्टीको १०औँ महाधिवेशनपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । केन्द्रीय कमिटीको पहिलो बैठक भने महाविधेशनस्थल चितवनको सौराहामै बसेको थियो। भक्तपुरस्थित जर्मनहाउस हस्पिटालीटी गठ्ठाघरमा बस्ने बैठक आज र भोलि दुई दिनसम्म चल्ने छ ।
बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन , एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान, नेताहरूको कार्य विभाजन लगायतका १५ एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । एमालेको केन्द्रीय कमिटि बैठक अघि आज बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्दैछ । एमालेको सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । बैठकमा केन्द्रीय कमिटीमा लैजाने एजेण्डाको बारेमा प्रारम्भिक छलफल गर्ने तयारी छ ।