मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भुकम्प पछिको पुनर्निर्माण सम्पन्न गर्न सबैको पहल र पर्यत्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार ट्रन्सपरेन्सी ईन्टरनेशनल नेपालले आयोजना गरेको भुकम्पपछिको पुर्नर्निर्माण र पुनस्र्थापनामा सदाचार विषयक सरोकारवालासँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख खुलालले पुनर्निर्माणको सम्पन्न गर्ने समय घर्किदै गएको प्रति चिन्ता व्यक्त गर्दै समयमै काम सम्पन्न गर्न निर्वाचित जनप्रतिनिधि र कर्मचारी बिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । विशेष परिस्थिती बाहेक दोस्रो किस्ता अनुदान लिने अवधि कार्तिक मसान्तमा सकिने भन्दै उहाँले पहिलो किस्ता लिएर दोस्रो किस्ता रकम नलिने भुकम्प प्रभावितका विषयमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताउनुभयो । जनप्रतिनिधिहरु जिम्मेवार भएर पुनर्निर्माणको काम सम्पन्न गर्ने तर्फ लाग्नु पर्ने तथा पुनर्निर्माणमा खटिएका कर्मचारीले सहकार्य गर्नुपर्ने बताउनुभयो ।

पुनर्निर्माणको काम समयमै सम्पन्न गर्न भुकम्प पुनर्निर्माण प्राधिकरले सधैं भरी गुनासो मात्र सुन्ने प्रकृया पनि बन्द गर्नुपर्ने उहाँले बताउनुभएको छ । सधैं गुनासो मात्र सुन्ने समस्याका कारण पनि पुनर्निर्माणमा ढिलाई भएको उहाँको भनाई थियो । कार्यक्रममा भुकम्प पुनर्निर्माण प्रधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख बिमल किशोर केपी र आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख बद्री बहादुर पाठकले निजि आवास र शिक्षाको प्रगतिका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडाशैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायत हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष तथा भुकम्प पुनर्निर्माण सम्बनधी सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका पुर्व सचिव कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा भएको हो ।