मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मर्यादित र सभ्य समाज निर्माणमा नेपाल स्काउटको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । शुक्रबार हेटौँडामा नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले समाज रुपान्तरमा स्काउटले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले अहिलेको समाज नकारात्मकता र विकृति तर्फ उन्मुख रहेको भन्दै सबैको सहकार्यमा समाजलाई रुपान्तर गर्न सकिने बताउनुभयो । उहाँले हामी सबै मिलेर समाजमा बढ्दै गएको विकृति हटाउँदै सभ्य र परिस्कृत समाज निर्माण गर्न जरुरी रहेको भन्दै यस कार्यका लागि स्काउट अग्रसर हुनेपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री पौडेलले स्काउटको भुमिका बालबालिका प्रति सकारात्मक रहेको समेत बताउनुभएको छ । “समाजलाई परिवर्तन गर्न हामी आफैले वचनबद्ध भएर लाग्नु पर्ने र स्काउटलाई जन्तामाझ पुर्याउन प्रदेश सरकारको स्काउटलाई सहयोग रहनेछ”– मुख्यमन्त्री पौडेलले भन्नुभयो । सो अवसरमा मुख्यमन्त्री पौडेललाई नेपाल स्काउट बागमती प्रदेशले संस्थाको संरक्षकको रुपमा दिक्षित समेत गरेको थियो ।
नेपाल स्काउट राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सदस्य तथा स्काउट मास्टर दिपक प्रसाद निरौला, बागमती प्रदेश नेकपा संसदीय दलको मुख्य   सचेतक केशवराज पाण्डे, खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलिया, बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर  विके,नेपाल स्काउट सल्लाहाकार गुञ्ज बहादुर श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी प्रमुख डिआइजी बसन्त कुमार लामा  लगायतकाको उपस्थिति रहेको थियो।