मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आर्थिक समृद्धिका लागि साना ठुला सबै उद्योगलाई महत्त्व दिनुपर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा महिला उद्यमी समितिको सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकार उद्योगप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले प्रदेश भित्रका ४ वटा बेवारिसे औद्योगिक क्षेत्र प्रदेश सरकार मातहत ल्याएर व्यवस्थित गर्ने योजना रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पाण्डेले घरेलु उद्योगको प्रवर्द्धनका लागि प्रदेश सरकारले विभिन्न योजना ल्याएको समेत बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बागमती प्रदेशका अध्यक्ष सूर्य बहादुर कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष श्याम गिरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।