प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटको फाइनलमा आर्मीले एपिएफ क्लबविरुद्ध ब्याटिङ थालेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै एपिएफले बलिङ गर्ने निर्णय गरेपछि आर्मीले ब्याटिङ गरेको हो।
एपिएफ क्लबलाई पराजित गर्दै आर्मी उपाधि जित्न चाहन्छ। २०१८ मा दोस्रो संस्करणको उपाधि जितेको एपिएफले चौथो संस्करणको प्रधानमन्त्री कपको उपाधि जित्ने लक्ष्यमा छ। समूह ‘ए’ मा एपिएफ र आर्मी परेका थिए। समूह चरणमा ६ रनको हार ब्यहोर्दै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको आर्मी फाइनलमा भने एपिएफविरुद्ध नचुक्ने लक्ष्यमा छ। यता, एपिएफ भने आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि चुम्न चाहन्छ।
सन् २०१७ मा भएको पहिलो संस्करणको उपाधि भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले संयुक्त रुपमा जितेका थिए। फाइनल खेलमा वर्षा बाधक बनेपछि राखेपले संयुक्तरुपमा विजेताको घोषणा गरेको थियो। २०१८ मा एपिएफले उपाधि जित्दा आर्मी भने उविजेता भएको थियो। २०१९ को तेस्रो संस्करणमा भने पुलिसले उपाधि जित्यो। यो पटक पनि आर्मी पुलिससँग चार विकेटले पराजित हुँदै उपविजेता मै चिक्त बुझाएको थियो।
यो पटकदेखि भने प्रधानमन्त्री कपको पुरस्कार राशि नेपाल क्रिकेट संघ ९क्यान० ले घटाएको छ। विगतका तीन संस्करणमा विजेताले २० लाख र उविजेताले १० लाख पाएका थिए। तर, यो पटक भने क्यानले पुरस्कार राशि आधा घटाउँदै विजेतालाई १० लाख र उविजेतालाई ५ लाख दिने निर्णय गरेको छ।