हेटौंडा । मकवानपुरका राजनीतिक दलहरु आज अन्तिम चुनाव प्रचार प्रसारको अभियानमा लागेका छन् । आज नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र लगायतका दल, एकिकृत समाजवादी र स्वतन्त्र उम्मेदवारहरुले आज मकवानपुर जिल्लाका धेरै वडा तहमा आफ्ना चुनावी सभाहरु गर्दै छन् ।
नेकपा एमालेले आफ्ना ६ जना उम्मेदवार सहित आफ्ना निर्वाचन क्षेत्रका बिभीन्न वडा तहमा सभा र घरदैलो कार्यक्रम गर्ने भएको छ । यसैगरी आज हेटौंडा उपमहानगर क्षेत्रका सबै वडाहरुमा र्याली र सभाको आयोजना गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले वताउनुभयो ।
सत्ता गठवन्धनमा रहेका दलहरुले पनि आज चुनाव प्रचार प्रसारको अन्तिम दिन भएकाले चुनावी सभाहरु गर्ने जनाएका छन् । राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न नगराउन राजनीतिक दल, उम्मेदवार र नागरिकलाई सचेत गराएको छ । त्यसैले पनि आज अन्तीम दिन भएकाले चुनाव प्रचार प्रसारको अभियानलाई तिब्रता दिएका हुन् ।
आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने र ४८ घण्टा अघिदेखि चुनाव प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता (७) ले निषेध गरेकाले त्यस्तो कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो । यस्तै, सामाजिक सञ्जाल, अनलाइन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रसारण तथा सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने, कमेन्ट गर्नेलगायतका सबै कुराहरू निषेध गरिएको छ । यस्तै, आयोगले चुनावको मौन अवधि अर्थात् ४८ घण्टाअघिदेखि मतगणना कार्य पूरा नभएसम्म जाँडरक्सी बिक्रीविवरण गर्ने तथा खाने कामलाई निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।