फाइल फाेटाे

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा शुक्रवार साँझ भेटवार्ता सम्पन्न भएको छ । उहाँहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको बैठकपछि नेताहरूले जानकारी दिनुभएको छ ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष नेता ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसिसीलाई सबैको सहमतिमा प्रतिनिधिसभाबाट अनुमोदन गरौँ भन्ने प्रस्ताव गर्नुभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले आफ्नो प्रस्ताव राख्नुभयो । प्रमुख प्रतिपक्ष दलका नेता ओलीको पुरानो अडान कायमै रहेको छ, उहाँले संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुप¥यो भन्नुभएको छ, त्यो वातावरण भयो भने हामी निर्णय गर्छौँ भन्नुभयो ।” एमाले अध्यक्षले अहिलेको समयमा लोकतान्त्रिक मूल्यमान्यता बोकेका शक्तिहरू (कांग्रेस–एमाले) एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
छलफलमा ओलीले “हामीले धेरै सङ्घर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौँ, लोकतन्त्रको यात्राका हामी सहयात्री हौँ, लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ, हामीलाई संसद्भित्र प्रवेश गर्ने ढोका अझै खुलेको छैन, त्यो ढोका खोलिदिनुस्, हामी निर्णय गर्छौँ”, भन्नुभएको मन्त्री कार्कीले जानकारी दिनुभयो । छलफलपछि जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसद्मा छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । एमसिसी अनिर्णयको बन्दी बन्नुहुँदैन भन्ने मान्यता एमालेको पनि रहेको भन्दै उहाँले नेपाली कांग्रेस र एमालेबीचमा समझदारी हुनुपर्नेबारेमा छलफल भएको बताउनुभयो ।
ज्ञवालीले छलफलबारे भन्नुभयो, “शुक्रवारको छलफलमा कांग्रेस गम्भीर देखिएको छ, हामीले पुरानै माग राखेका छौँ, तर सरकारसँग एमालेको माग पूरा गर्ने खाका बनेको पाएनौँ ।” एमालेलाई संसद्मा प्रवेश गरेर आफ्नो कुरा राख्ने वातावरण सरकारले बनाउनुपर्ने र संसद्मा एमालेले राखेको नाराको माग पूरा गर्नुपर्ने एमालेको धारणा यथावतै रहेको उहाँको भनाइ छ । एमालेले सरकारमा जाने र लेनदेन गर्नेबारेमा कुनै प्रस्ताव नराखेको भन्दै नेता ज्ञवालीले कांग्रेस र एमालेबीच आज पुनः छलफल हुने बताउनुभयो । कांग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने उहाँको भनाइ छ । छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।