सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताउनुभयो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो ।

उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए । जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।