मकवानपुर, फाल्गुन १९ । मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी रुपमा निर्वाचन सम्पन्न गर्न सवै पक्षको सकृय सहभागीतामा मतगणना स्थलसम्मको तयारी पुरा भएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
जिल्लाका दुई निर्वाचन क्षेत्रमा निर्वाचनका लागी कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलहरूमा पुगी सकेको र निर्वाचन पूर्व गर्नुपर्ने कार्यहरु भईरहेको उहाँले बताउनुभयो । यसका साथै दुवै निर्वाचन क्षेत्रका मतगणना स्थल पनि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । दुवै क्षेत्रको मतगणनाका लागि हेटौंडा–४, स्थित भुटनदेवी माध्यमिक विद्यालयको भवनलाई प्रयोग गर्ने गरि तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार मतगणना स्थलमा अहिलेदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको छ । मत गणना स्थलमा सिसि क्यामेरा लगायत आवश्यक अन्य उपकरणहरू जडान गरी प्रविधि मैत्री बनाइएको छ । भने, सञ्चारकर्मीका लागि समेत ईन्टरनेटसहितको छुट्टै कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता मध्ये क्षेत्र नम्बर १ मा पुरुष ७९६२१, महिला ७८,८१० र अन्य ४ गरि १,५८,४३५ र क्षेत्र नम्बर २ मा ८२३३२ पुरुष, ७४,५६६ महिला र १ अन्य गरि १५६८९९ मतदाता छन् । जिल्लाको क्षेत्र नम्बर १ मा ४० वटा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । भने, क्षेत्र नम्बर २ मा ६२ वटा वडा, १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र कायम भएको छ । यस बाहेक जिल्ला प्रशासन कार्यालय र क्षेत्रिय कारागार भीमफेदीमा गरि दुईवटा अस्थाई मतदान केन्द्र तोकिएको छ । मकवानपुरका दुई निर्वाचन क्षेत्र अन्तरगत क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जना गरि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा क्षेत्र नम्बर १ मा १३ जना दलीय र १० जना स्वतन्त्र तथा क्षेत्र नम्बर २ मा १६ जना दलीय र ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।