मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनु भएको छ । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ४ को उपदफा (२) बमोजिम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिको सिफारिसमा प्रदेश प्रमुखले विनयी त्रिवेणी गाउँपालिका–१, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निवासी श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्नुभएको हो । २०७६ मंसिरमा गठित आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ उमेर हदका २०८० चैत्र ३ पदमुक्त हुनुभएपछि विगत ७ महिनादेखि रिक्त अध्यक्षमा श्रेष्ठ नियुक्त हुनु भएको हो ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ अनुसार अध्यक्षको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने व्यवस्था छ । नव नियुक्त अध्यक्षको सपथ ग्रहण भने भोली मात्र हुने जनाईएको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठ गत बिहीवार मात्रै लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक (११औं तह सहसचिव) पदबाट अवकास हुनु भएको हो ।