बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा राहत वितरणलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २ समितिले बाढीपहिरोले पुर्याएको क्षति र यसपछिको राहत, पुनःस्थापना, पुनःनिर्माणका विषयलाई सम्बोधन गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै आज उहाँले तीन वटै तहले दिने राहतका लागि कार्यविधि बनाएर काम गर्ने बताउनुभयो ।

“राहतका लागि पालिकाहरूलाई तत्कालै रु २० लाख र रु १५ लाख उपलब्ध गराइएको छ, मृत्यु भएका परिवारलाई रु एक लाख जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “राहत तथा उद्धारका लागि १३ जिल्लाका लागि रु पाँच लाखका दरले जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको छ ।”

उहाँले प्रमाणीकरण भएपछि मृत्यु भएका बागमती प्रदेशभित्रका स्थायी बासिन्दा परिवारलाई थप रु एक लाख उपलब्ध गराउने समेत जानकारी दिनुभयो । मुख्यमन्त्री लामाले सबै जिल्लाबाट भौतिक र मानवीय क्षतिको विवरण प्राप्त भएपछि तथ्याङ्कअनुसार आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

त्यस अवसरमा ललितपुर क्षेत्र नं २ को ‘२’ प्रदेशसभा सदस्य एवं संविधानसभा सदस्य रामकृष्ण चित्रकार, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्साल लगायत नेपाली कांग्रेसका ललितपुर क्षेत्र नं २ का नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खड्काले १० वटै वडा र ललितपुर महानगरको ७, ८, ९ र १७ अत्यन्तै प्रभावित भएको अवगत गराउँदै महालक्ष्मी नगरपालिकालाई बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार विपद्ग्रस्त पालिका घोषणा गर्न छुट हुन गएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । बाढी, पहिरोबाट महालक्ष्मी नगरपालिका-८, ९ र १० प्रभावित भई सात जनाको निधन भएको थियो । यी तीन वडाको करिब १० घर पूर्ण रूपले क्षति भई तत्कालै अस्थायी बासस्थान उपलब्ध गराउनुपर्ने नेपाली कांग्रेसको माग छ ।