हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सरकारले आफूभन्दा कनिष्ठलाई आयोगको अध्यक्ष नियुक्त गरेको भन्दै असन्तुष्टि जनाउँदै ढकालले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष राजीनामा दिनु भएको हो ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क) बमोजिम कार्तिक ११ गतेदेखि लागु हुने गरी सदस्य पदबाट राजीनामा दिएको ढकालले बताउनुभयो । बागमती प्रदेश सरकारले सहसचिव तहको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गरेकाले आफूले राजीनामा दिएको ढकालले बताउनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका पूर्वनिर्देशक महेश्वर श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग बागमतीको अध्यक्ष नियुक्त गरिएको छ ।











