मकवानपुर– गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अब स्थानीय तह अन्तर्गत सञ्चालन हुने भएको छ । अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारअन्तर्गत सञ्चालन भएको कार्यक्रम यो वर्ष देखि स्थानीय तहअन्तर्गत सञ्चालन हुने गरि केन्द्रिय सरकारले सर्सत अनुदानमा बजेट कार्यक्रम तयार पारेर स्थानीय तहमा पठाएको हो ।
मेडपा कार्यक्रम सञ्चालनका लागि मकवानपुरका स्थानीय तहहरुमा यो वर्ष २ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । संघीय सरकारले मेडपा सञ्चालनका लागि बजेट तथा कार्यक्रम तयार पारेर स्थनीय तहले कार्यान्वयन गर्ने गरि सर्सत अनुदानमा बजेट विनियोजना गरेको छ । मेडपा कार्यक्रम अन्तर्गत सर्शत अनुदानमा जिल्लाको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा ३४÷३४ लाख, बकैया, बागमती र मनहरी गाउँपालिकामा २९÷२९ लाख तथा थाहा नगरपालिका, ईन्द्रसरोवर, भीमफेदी र राक्सिराङ गाउँपालिकामा २५÷२५ लाख बजेट विनियोजन भएको छ ।
विनियोजित बजेट मध्ये लघुम विकास मोडलमा नयाँ लघु उद्यमी सिर्जना, उद्यमीको स्तरोन्नति, साझा सुविधा केन्द्रको स्थापना र प्रविधि हस्तान्तरण कार्यक्रममा खर्च गर्ने गरि बजेट तथा कार्यक्रम तयार गरिएको छ । अस्ट्रेलियन सरकारसहितका अन्य विकास साझेदारहरुको सहयोगमा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) ले विगत २० वर्षदेखि लघु उद्यम विकास कार्यक्रम (मेडप) कार्यान्वयनमा ल्याएको थियो । यद्यपि ती निकाय यस कार्यक्रमबाट बाहिरिएपछि नेपाल सरकारले नै यसलाई आन्तरिकीकरण गर्दै मेडपाको रुपमा सुरु गरेको थियो । सरकारले अघिल्लो आर्थिक वर्षदेखि नेपाल सरकारको सशर्त अनुदानमा मेडेपालाई प्रदेश मातहत सञ्चालन हुने व्यवस्था गरेको थियो भने यो वर्ष देखि स्थानीय तहले कार्यान्वयन गर्ने गरि बजेट तथा कार्यक्रम तयार पारिएको हो ।