यस वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार अहिलेसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार गएको जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ ।
उहाँले अघिल्लो वर्षको यही अवधिको तुलनामा देशभर सरदरभन्दा कम वर्षा भएको जानकारी दिनुभयो । ‘देशभर अहिलेसम्म सरदरको ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । जुन सरदरभन्दा कम हो’, मौसमविद् हुमागाईंले भन्नुभयो । मनसुन अवधिभर नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ । यसअघि विगतका वर्षभन्दा यो वर्ष सरदरमा देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । शाखाका अनुसार यो बीचमा विशेषगरी तराईका भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गा, जिरी र जोमसमका मौसम मापन केन्द्रको आँकडामा सरदरभन्दा बढी वर्षा भएको छ ।
ताप्लेजुङ, काठमाण्डौ, पोखरा, दिपायल र जुम्लामा सरदरको हाराहारीमा वर्षा भएको छ भने सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतमा सरदरभन्दा कम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशााले मुख्यगरी देशभरका विभिन्न २० मौसम मापन केन्द्रको तथ्याङ्कका आधारमा मौसम पूर्वानुमान गर्दै आएको छ । मौसम विभागले सन् १९९१ देखि २०२० सम्म ३० वर्षको अवधिको तथ्याङ्कका आधारमा विभिन्न मौसम मापन केन्द्रबाट आएको विवरणका आधारमा मौसम विवरण दिने गरेको छ । नेपालमा मनसुन यस वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई हप्ता लागेको थियो । मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक हप्ता राम्रोसित वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।