निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज (शनिबार) बुझाउने भएको छ । सिंहदरबारस्थित शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरू साधेर प्रतिवेदनलाई अन्तिम रूप दिने काम गरिएको र प्रतिवेदन आज बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । संसद् आज (असोज) १ गते राति १२ बजे सकिने भएकाले समितिले आज नै संसद्मा प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बयानका क्रममा आएको सवालमा प्रश्न गर्नका लागि बोलाउने निर्णय गरे पनि सर्वोच्च अदालतका न्यायाधीश शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जान नमिल्ने र पूर्वप्रधानन्यायाधीशहरुले पनि आफूहरू जान नमिल्ने पत्र समितिलाई पठाएपछि समितिले वरिष्ठ अधिवक्ता र अधिवक्तासँग मात्र बयान लिएको हो । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियो ।