प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन र देशभरी रहेका क्वारेन्टाइनको स्तर उन्नती गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सी सी एम सी) मा पुगेर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भइरहेका कार्यहरुको जानकारी लिए पछि यस्तो निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले जानकारी दिनुभयो ।
छाउनीस्थित सी सी एम सी को कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव गुरागाईंसहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट ब्रिफिङ लिनुभएको हो । कोभिड–१९ महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सी सी एम सी को स्थापना गरिएको हो ।सी सी एम सी ले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङदेखि औषधि खरिदसम्मका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।