मकवानपुर– मकवानपुरका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताएका छन् । स्थानीय तह समन्वय समितिको बुधबार बसेको बैठकमा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले कोरोना महामारीको संक्रमणबाट बच्न सबैको सामुहिक सकृयता आवश्यक भएको भन्दै एकताबद्ध भएर लाग्ने बताएका हुन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले कोरोना बिरुद्धको लडाईलाई पहिलो प्राथमिक्ता दिँदै सचेतनाको कमिले पनि धेरै समस्याहरु आएको निष्कर्श निकाल्दै कोरोनाका सम्बन्धी सचेतना बृद्धि गर्ने कार्य संचालन गर्ने समेत जनाएका छन् । बैठकमा उनिहरुले कोरोना परिक्षण (पीसीआर) परिक्षणको दायरा बढाउन माग गरेका छन् । जिल्लाका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले पीसीआर परिक्षणको दायरा बढाएर ढुक्क हुने बतावरण बनाउनु पर्ने बताएका हुन् । उनिहरुले कोरोना संक्रमण हुनबाट जोगिन र जोगाउन वडारवडामा निगरानी समूह गठन गर्ने सहमति समेत भएको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले जिल्लाका सबै स्थानीय तहमा व्यवस्थित क्वारेन्टाई संचालन गर्ने निर्णय गरेको छ । स्थानीय तहहरुले बाहिरबाट आएका व्यक्तिहरुलाई पालिकाभित्रै स्थापना गरेको क्वारेन्टाइनमा राख्ने निर्णय गरेका हुन् । कोराना संक्रमित क्षेत्रबाट आएका जोकोहीलाई पनि गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने तथा कोरोना संक्रमणको लक्षण देखेका व्यक्तिहरुलाई मात्र हेटौंडास्थित आइसोलेसनमा पठाउने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिनुभयो । क्वारेन्टाइनमा राख्नु पर्ने व्यक्तिहरुलाई समेत आइसोलेसनमा पठाउँदा थप समस्या सृजना भएकाले त्यसलाई रोक्न हरेक स्थानीय तहले व्यवस्थित क्वारेन्टाईन निर्माण गर्ने बाहिरबाट आएकालाई सम्बन्धीत पालिकाले क्वारनेन्टाईनमा राख्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख/उपप्रमुखहरुले कोरोना संक्रमणको जोखिम आज भन्दा भोली बढ्दो क्रममा रहेको भन्दै सबैले आ–आफ्नो तह र तप्काबाट कोरोना बिरुद्धको लडाईमा सकृय भएर लाग्ने बताएको उहाँले जानकारी दिनुभयो । जिल्लामा हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा आइसोलेसनसहित तथा अन्य स्थानीय तहमा क्वारेन्टाइनहरु निर्माण भएका छन् । ती निर्माण भएका आइसोलेसन र क्वारेन्टाईनलाई अझै व्यवस्थित बनाएर सञ्चालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । जिल्लाका १० वटै स्थानीय तहमा गरि हाल २ सय ४३ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । भने, ३५ बेडको आइसोलेसन रहेको छ । स्थानीय तह प्रमुख र उपप्रमुखहरुले जिल्लामा उत्पादित तरकारी, आवश्यक निर्माण सामग्री, मल, बिउबीजन, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्थालगायतको व्यवस्थापनका विषयमा जिल्लाले पहलकदमी लिनुपर्ने बताएका थिए ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामा, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदर हुमागाई, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, भीमफेदी अध्यक्ष हिदम लामा, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, ईन्द्रसरोवर अध्यक्ष जीवन लामा, कैलाश अध्यक्ष टंक मोक्तान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललगायतको सहभागिता थियो ।