काठमाडौँ – स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म निर्वाचन आयोगमा २९ वटा राजनीतिक दलहरूले निवेदन दिएका छन् । आयोगको कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म आयोगमा २९ वटा राजनीतिक दलले निवेदन दिएको जानकारी गराउनुहुँदै छिटै नै निर्वाचन आचार संहिता लागू गर्ने गरी आयोगले काम गरिरहेको पनि बताउनुभयो ।
आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख रुपैयाँ निकासाको लागि अनुरोध गरी पठाएको जानकारी दिनुभयो । यसैगरी आयोगले निर्वाचनमा खटिने जनशक्तिहरूको प्रति व्यक्ति बिमाङ्क रकम २० लाखको बिमा गर्ने जानकारी गराउँदै प्रवक्ता पौडेलले यसका लागि सार्वजनिक सूचना प्रकाशन गरी सम्बन्धित बिमा प्रदायक कम्पनीहरूसँग प्रस्ताव माग गरिएको बताउनुभयो । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा खटिने जनशक्ति १ लाख १० हजार ७ सय रहने अनुमान गरिएको छ ।









