काठमाण्डौ – आईसीसी टी २० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा ओमानले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । अलअमिरातमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । ओमानका लागि कप्तान जेशान मक्सुदले २१, आयन खानले १६ र नसीम खुशीले १५ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले मात्र १३ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी, आरिफ शेख, अविनाश बोहरा र सागर ढकालले एक–एक विकेट लिए । नेपाल विश्व कप छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएको थियो । यस्तै ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो । यसै वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट भएका यूएई र आयरल्यान्डले आज ग्लोबल छनोटको उपाधिका लागि खेल्दैछन् ।