मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना बिरुद्धको खोप अभियानमा सहभागी भई सुरक्षित र स्वस्थ रहन सबैलाई आव्हान गर्नुभएको छ । मकवानपुर जिल्लामा आइतबारबाट सुरु गरिएको कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियानको शुभारम्भ समारोहमा प्रमुख खुलालले सबैलाई खोप अभियानमा सहभागि हुन आव्हान गर्नुभयो ।
बागमती प्रदेशको राजधानी हेटौंडा स्थित हेटौंडा अस्पतामा आजबाट दोस्रो चरणको खोप लगाउन सुरु गरिएको हो । दोस्रो चरणको खोप शभारम्भ समारोहमा अभियानमा सहभागि भएर सुरक्षित र स्वस्थ रहन आव्हान गर्नुहुँदै उहाँले खोप अभियान छिटोभन्दा छिटो आम जनतावीचमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । नागरिकको पहुँचमा खोप अभियान पुगेपछि मात्रै अभियानले सार्थकता पाउने उहाँले बताउनुभयो । दोस्रो चरणमा आजबाट पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारहरुका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
यसअघि माघ १४ गतेबाट पहिलो चरणको खोप दिइएकोमा सरकारले आइतबारबाट दोस्रो चरण सुरु गरेको हो । पहिलो चरणमा जिल्लामा दुई हजार १६६ जनालाई खोप लगाईएको थियो । दोस्रो चरणमा भने जिल्लामा ५ हजार खोप उपलब्ध भएको र दोस्रो चरणको खोप अभियान फागुन ८ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो । चरणवद्ध रुपमा सवैलाई अनिवार्य खोप सेवा दिइने उपाध्यायले बताउनुभयो ।