मकवानपुर– मकवानपुरको कैलाश गाउँपालिकाले आजबाट काममा आधारित राहत कार्यक्रम सुरू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लकडाउनका बेला रोजगारी गुमेर खाद्यान्न अभाव हुने परिवारलाई गाउँपालिकाले काममा लगाएर खाद्यान्न वितरण गर्ने कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाका १० वटै वडामा खाद्यान्नका काममा आधारीत राहत कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो । गाउँपालिकामा राहत आवश्यकता भएकालाई काममा लगाएर मात्रै राहत वितरण गर्न सुरु गरिएको र कार्यक्रममा पालिकाका २३ सय जना सहभागी हुने उहाँले बताउनुभयो । अहिले सम्म राहत वितरण नगरेको गाउँपालिकाले स्वास्थ्य परीक्षण गरेर मात्रै काममा लगाएको तथा बालबालिकालाई भने श्रममा सहभागी नगराएको उहाँले बताउनुभयो । ‘काम नभएर खान नपाइने भो भन्नेलाई काम दिएर खाद्यान्न वितरण गर्न सुरु गरेका छौं’, गाउँपालिका अध्यक्ष मोक्तानले भन्नुभयो, ‘खानाका लागि कामको अवसर पनि दिने र खाना दिएर गाउँपालिकाको काम पनि हुने उपाय अपनाएका हौंं ।’
खाद्यान्नको माग गर्ने गाउँवासीलाई गाउँपालिकाले मुख्यबाटो, भित्री बाटो, गोरेटो, कुलो, विद्यालय जाने बाटो मर्मत गर्ने काममा लगाइएको छ । गाउँपालिकाले ४ दिन काम गरेवापत ५० केजी चामलसहित दाल, तेल, नुन, मसला, सावुन वितरण गर्ने जनाएको छ । गाउँपालिकाले सबै वडामा २५÷२५ जनाको समूह बनाएर हरेक समूहमा एकजनालाई सुपरभाइजर राखेर काममा लगाएको छ ।