मकवानपुर– मकवानपुरमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुधिरहेका १७ हजार भन्दा बढि विपन्न परिवारलाई राहत वितरण गरिएको छ । बिहीबारसम्म जिल्लाका १० स्थानीय तहहरुले १७ हजार ७ सय ४ परिवारलाई राहत वितरण गरिसकिएको जानकारी दिएका हुन् ।

स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरेको जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जनाएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालका अनुसार स्थानीय तहले नेपाल सरकारको मापदण्डलाई आधार मानेर आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्नलगायत राहत वितरण गरेका छन । बिशेष गरि लकडाउनले प्रभावित अतिविपन्न, असाहय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने बिपन्न तथा हातमुख जोर्न समस्या भएका परिवारलाई राहत वितरण गरेकाे उहाँले बताउनुभयाे । स्थानीय तहहरुले वितरण गरेको राहतको विवरण जिससलाई उपलब्ध गराउने गरेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रमुख खुलालका आनुसार जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये सबै भन्दा बढि हेटौंडा उपमहानगरपालिकाले १० हजार १०५ परिवारलाई राहत वितरण गरेको छ भने कैलाश गाउँपालिकाले अहिलेसम्म कुनै पनि राहत वितरण गरेको छैन् । त्यस्तै थाहा नगरपालिकाले अहिलेसम्म १४५ परिवार, मनहरी गाउँपालिकाले ३ हजार ३३४ परिवार, राक्सिराङ गाउँपालिकाले १ हजार ५६५ परिवार, बकैया गाउँपालिकाले १ हजार २७५ परिवार, मकवानपुरगढी गाउँपालिकाले ४६३ परिवार, बागमती गाउँपालिकाले ४५० परिवार, भीमफेदी गाउँपालिकाले २३६ परिवार र ईन्द्रसरोवर गाउँपालिकाले १३१ परिवारलाई राहत वितरण गरेको जानकारी दिएका छन् ।

जिल्लाका स्थानीय तहहरुले व्यवस्थित तरिकारले राहत वितरण गरेको तथा आफ्नो क्षमता अनुसार कोभिड बिरुद्धको प्रतिकार्यको काम गरेको पाईएको समेत बताउनुभयो । लकडाउनकै अवस्थामा जिल्लाको प्राय सबै स्थानीय तहमा पुगेर स्थलगत अवलोकन गरेको बताउँदै उहाँले कोरोना विरुद्ध मकवानपुरका स्थानीय तहहरु निकै सकृय भएर लागेको पाईएको बताउनुभयो । त्यसका लागि स्थानीय तहहरुलाई प्रमुख खुलालले धन्यवाद समेत दिनुभएको छ ।