हेटौंडा । बागमती प्रदेश युवा परिषद्को आयोजनामा चारदिने प्रदेश युवा नमुना संसद अभ्यास कार्यक्रम आजबाट हेटौंडामा सुरु भएको छ । बुधबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले कार्यक्रमको उदघाटन गर्नुभयो ।

कार्यक्रमको उद्धघाटन गर्नुहुँदै मन्त्री थपलियाले युवा नमुना संसद अभ्यास तालिमबाट युवाहरुले वढि भन्दा बढि ज्ञान प्राप्त गर्नुपर्ने र सिकेका कुरा व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइले युवालाइ सशक्तीकरण गर्ने, नेतृत्व गर्न सक्ने क्षमता विकास गर्ने, नेतृत्व भुमिकामा पुग्नुपर्छ भन्ने मान्यताका आधारमा कार्यक्रम तय गरेको बताउनुभयो ।

प्रदेश युवा परिषदले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि नमुना संसद सञ्चालन गर्ने गरेको छ । कार्यक्रममा प्रदेशका १३ जिल्लाबाट दुईजनाका दरले २६ जना, संघीय युवा परिषदले सिफारिस गरेका ८ जना र प्रदेश युवा परिषदले छनोट गरेका ८ जना युवाहरुको सहभागिता रहेको परिषदका कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो ।

युवा परिषदले पहिलो चरणमा स्थानीय तहमा नगर÷गाउँ सभाको अभ्यास गराएर छनौट भएका युवालाई प्रदेश नमुना संसदमा सहभागी गराएको उहाँले बताउनुभयो । नमुना संसद अभ्यासका क्रममा १६–२४ वर्षका युवाहरुले दिगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयता, युवाका मुद्दा, जलवायु परिवर्तन आदि विषयमा बहस तथा छलफल गर्ने चौलागाईले बताउनुभयो ।