हेटौंडा– बागमती प्रदेश सभाको बैठक असार १५ गते बस्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेर दुई दिनको छलफलपछि स्थगित भएको प्रदेश सभाको बैठक असार १५ गते दिनको ३ बजे बस्ने भएको हाे ।

असार १ गते बजेट प्रस्तुत भएपछि असार २ र ३ गते प्रदेश सभामा छलफलपछि प्रदेश सभा बैठक स्थगित भएको थियो । प्रदेश सभाको बैठकअघि असार १४ गते दिनको २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभामा बजेट प्रस्तुत गरिसकेपछि प्रदेश सभा सदस्यलाई बजेटको अध्ययन गर्न समय आवश्यक भएको भन्दै केही दिनका लागि बैठक स्थगित गरिएको बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । यस्तै स्थानीय तहको बजेट प्रस्तुतीको कार्यक्रममा पनि प्रदेश सभा सदस्यहरुले ध्यान दिनुपर्ने भएकोले बैठक केही दिनका लागि स्थगित गरिएको उहाँको भनाइ छ । अब बस्ने बैठकले बजेटमाथि थप छलफल गरेर पारित गर्ने जनाइएकाे छ ।