‘स्वेच्छिक सहभागिता सहितको फराकिलो कर आधार : दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय कर दिवस मनाइँदै छ । आन्तरिक राजस्व विभागले कर दिवश २०७९ को अवसरमा सम्पूर्ण करदाता, सरोकारवाला निकायहरू एवं कर परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कर प्रणालीलाई पारदर्शी, प्रविधिमैत्री र स्वेच्छिक सहभागितामा आधारित बनाउँदै सबल अर्थतन्त्रको आधारका रुपमा स्थापित गर्नु आवश्यक रहेको जनाएको छ ।
विभागले एक सन्देश जारी गर्दै विकास र समृद्धिका लागि वैदेशिक सहयोग माथिको निर्भरता कम गर्दै पर्याप्त आन्तरिक लगानी जुटाउनका लागि सबल कर प्रणालीको आवश्यकता रहेको जनाएको हो । विश्वव्यापीरुपमा अवलम्बन गरिएका नवप्रवर्तनशील नीति र रणनीति, असल अभ्यास, कार्य प्रणाली र व्यवहारहरूलाई आन्तरिकीकरण गर्दै कर प्रणाली सुधारलाई निरन्तरता दिन आन्तरिक राजस्व विभाग प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।
उत्पादनमा आधारित अर्थतन्त्र, लगानीमैत्री कर नीति, पारदर्शी कार्य प्रणाली, प्रविधिमा आधारित कर प्रशासन र सचेत नागरिकहरूको संयुक्त प्रयास र प्रयत्नबाट मात्र मुलुकको आन्तरिक राजस्व परिचालन प्रभावकारी भई विकास र समृद्धिको राष्ट्रिय उद्देश्य हासिल गर्न सकिने विभागले जनाएको छ । विभागले यस वर्ष कर दिवसका निर्वाचनका कारण विशेष कार्यक्रम गर्न नमिलेका कारण मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गरिने जनाएको छ ।