मकवानपुर– मकवानपुरको मनहरी गाउँपलिकाले भूमिहीन, दलित र सुकुम्बासीको तथ्यांक संकलन प्रकृया सुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको सुचनाको आधारमा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र व्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि गाउँपालिकाले प्रकृया सुरु गरेको हो ।

आयोगले सातवटै प्रदेशका स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा भोगचलन गरिरहेको जग्गा पाउन सूचना जारी गरेपछि गाउँपालिकाले इकाइ कार्यालय स्थापना गरेर प्रकृया सुरु गरेको हो । भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिको विवरण र तथ्याङ्क संकलन गर्न शुक्रबार शाखा कार्यालय स्थापना गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । आयोगद्धारा प्राप्त सुचनाका आधारमा छुट्टै कार्यालय स्थापना गर्ने, कर्मचारी तोक्ने, वडामा कर्मचारी खटाउने, अभिमुखिकरण गर्ने, प्रचारप्रसार गर्ने कार्य सुरु गरेको अध्यक्ष उप्रेतीले बताउनुभयो । भूमिहीन व्यक्ति तथा परिवारहरुको विवरण संकलन गर्नका लागि सबै कर्मचारी खटाईने तथा सम्बन्धित वडा कार्यालयमार्फत् पनि आफ्नो विवरण पेश गर्न सकिने उहाँले बताउनुभयो । आयोगले पहिलाे चरणमा जिल्लाकाे हेटाैंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा भोगचलन गरिरहेको जग्गा पाउन सूचना जारी गरेकाे छ ।