मकवानपुर – मकवानपुर जिल्लास्तरीय दोस्रो अन्तरपालिका पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तरगत आईतबार भएको खेलमा साविक विजेता थाहा नगरपालिका र उपबिजेता हेटौंडा उपमहानगरपालिका विजयी भएको छ । आईतबार भएको पहिलो खेलमा थाहा नगरपालिकाले राक्सिराङ गाउँपालिकालाई र दोस्रो खेलमा हेटौंडाले बकैया गाउँपालिकालाई पराजित गरेको हो ।
आइतबार हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा भएको पहिलो खेलमा साविक बिजेता थाहा नगरपालिकाले राक्सिराङ गाउँपालिकालाई शुन्यका बिरुद्ध तीन गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५१ मिनेटमा थाहा नगरपालिकाको तर्फबाट सन्दिप श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस लगत्तै थाहाका तर्फबाट ५४ र अतिरिक्त समयको दोस्रो (७२) मिनेटमा राजन थापाले थप दुई गोल गर्दै टिमलाई जित दिलाए । पहिलो खेलको म्यान अफ दि म्याच पनि दुर्ई गोल गर्ने थापा नै घोषित भए ।
त्यस्तै आजै भएको दोस्रो खेलमा साविक उपविजेता हेटौंडा उपमहानगरपालिका बकैया गाउँपालिकालाई शुन्यका बिरुद्ध दई गोल गर्दै विजयी भयो । हेटौंडाका तर्फबाट रितेश श्रेष्ठले एक गोल गरे भने, एक गोल आत्मघाती भएको थियो । खेलको पहिलो हाफको ३३औं मिनेटमा आत्मघाती गोल मार्फत अग्रता बनाएको हेटौंडाका तर्फबाट खेलको दोस्रो हाफको १८ औं मिनेटमा रितेशले गोल गर्दै टिमलाई २–० को जित दिलाएका हुन । दोस्रो खेलको म्यान अफ दि म्याच पनि रितेश घोषित भए ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा आगामी चैत्र ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताबाट उत्कृष्ठ २४ खेलाडी छनौट गरेर बागमती प्रदेश खेलकुदमा सहाभागि गराईने बताईएको छ ।