मकवानपुर – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मकवानपुर जिल्लाका विभिन्न क्याम्पसमा आज भएको निर्वाचन मध्ये चारवटा क्याम्पसको नतिजा सार्वजनीक भएको छ । जिल्लाको आठ मध्ये आज सात वटा क्याम्पसमा निर्वाचन भएकोमा चारवटाको नतिजा सार्वजनीक भएको हो ।
आज निर्वाचन भएका सात मध्ये थोरै हेटौंडा–६, स्थित बंशगोपाल बहुमुखी क्याम्पस, हेटौंडा–१६, स्थित हटिया–जनप्रिय बहुमुखी क्याम्पस, हेटौंडा–१९, स्थित निर्मल बहुमुखी क्याम्पस, मनहरी गाउँपालिका स्थित मनहरी बहुमुखी क्याम्पसमा भएको निर्वाचनको चुनावी परिणाम आएको हो । हालसम्म नतिजा सार्वजनीक भएका क्याम्पसहरुमा अनेरास्ववियुको प्यानल नै विजयी भएका छन् ।
अन्तिम परिणामअनुसार हेटौंडा–६, चौघडास्थित बशंगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलबाट दिवस सिलवालको टिम विजयी भएको छ । सिलवालले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मोनिका गौतमलाई पराजित गरेका हुन । यस्तै हेटौंडा–१९, स्थित निर्मल बहुमुखी क्यासपमा सरोज अर्याल नेतृत्वको अनेरास्ववियु, अनेरास्ववियू र अखिल क्रान्तिकारी (विप्लव) बीचको संयुक्त प्यानल विजयी भएको छ । अर्यालले अखिल क्रान्तिकारी र राप्रविसंका जय बहादुर रोक्कालाई पराजित गरेका हुन् ।
त्यस्तै हेटौंडा–१६, हटियास्थित हटिया–जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा मुना गोलेको प्यानलै विजयी भएको हो । भने, मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसमा सभापतिमा कुमार घिसिङ विजयी हुनु भएको छ । निर्वाचनमा घिसिङले प्रतिद्धन्दी नेपाल विद्यार्थी संघका किशोर लम्साललाई पराजित गरेका हुन् ।
मकवानपुरका सबै क्याम्पसमा दुई वटा प्यानल बनेर चुनावी प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको थियो । भने, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लब नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को एउटा प्यानल रहेको थियो । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानमा भने ३ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।