मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकाकी पुर्व उपाध्यक्ष मनिला विष्टले राजिनामा पछि दिएको अभिव्यक्ति प्रति कार्यालयले गम्भिर ध्यानाकर्षण जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले आज एक प्रेस विज्ञप्ती जारी गर्दै राजिनामा पश्चात उपाध्यक्षले दिएको अभिव्यक्ति प्रति कार्यालयका तर्फबाट गम्भिर ध्यानाकर्ष भएको जनाउनुभएको हो ।
“यस गाउँपालिकाका उपाध्यक्ष श्री मनिला बिष्टले आफ्नो पदबाट अध्यक्ष श्री एकराज उप्रेती समक्ष दिएको लिखित राजिनामाको विषयसंग जोडेर मनिला विष्टले मिति २०७७/०९/१९ गते गरेको पत्रकार सम्मेलनमा यस कार्यालयका कर्मचारीहरुको विषयमा दिएको अभिव्यक्ति प्रति कार्यालयको गंभिर ध्यानाकर्षण भएको छ ।” प्रमुख प्रशासकिय अधिकृत चौलागाइद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उहाँले कर्मचारीहरुको चरित्र हत्या गर्ने प्रयास गर्न पनि आफैमा गैरकानुनी कार्य भएको उल्लेख गर्दै भन्दै कार्यालयका कर्मचारीहरू पदिय मर्यादा, आवरण र कार्यालयको जिम्मेवारी प्रति सजग रहेको र पदाधिकारीहरुले राजिनाना दिने र स्वीकृत गर्ने विषयमा कहि कतै कुनै कर्मचारीहरुको कुनै भुमिका र स्वार्थ नरहेको समेत स्पष्ट पारिएको छ ।
विज्ञप्ती मार्फत गाउँपालिकाले गरेका निर्णयहरु निस्पक्ष र प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने सन्दर्भमा कार्यालय प्रमुखको निर्देशन र आफ्नो पदिय जिम्वेवारीमा रहेर काम गरिरहेका कर्मचारीको मनोबल कमजोर बनाउने गरी त्यस्ता भ्रामक कुराहरु नगर्न र नलाग्न समेत उहाँले सम्पूर्ण मनहरीवासीलाई अनुरोध गर्नुभएको छ ।