निशा गुरुङ/हेटौंडा
जितहरुमा नमात्तिनु, हारहरुमा नआत्तिनु, हारलाई पन्छाउँदै जितहरुमा लम्किरहनु । तर, न जित भो न त हार भो, जिन्दगी बेकार भो ।
यस्तै भएको छ हेटौंडा बजारको संगमचोकमा तरकारी बेच्दै आएकी राधिका बिकलाई । छतिवनको शिखरपुर गाउँकी राधिका मामा, काका र दिदीहरु तत्कालीन माओबादीमा लागेको देखेर उनी पनि होमिइन् । उनी ठूलो सपना बोकेर परिवर्तनका लागि बन्दुक बोक्नुपर्ने रहेछ भन्ने सोचले युद्धमा लागेकी थिइन् ।
२०५२ सालदेखि नै युद्धमा लागेकी राधिकालाई त्यतिबेला छोरा र छोरीलाई गरिने भेदभाव कसरी अन्त्य गर्ने र यसलाई कसरी मुक्त गर्न सकिन्छ भन्ने सोचले सानैदेखि पिरोल्थ्यो । उनको मनलाई आफू तल्लो जातको हुनाले अन्यले सरह भित्र बसेर खानपाउने अधिकार कसरी प्राप्त सकिन्छ होला भन्ने सोच आउँथ्यो ।
त्यतिबेला माओबादीहरु आफ्नो घरतिर आउने र खानेबस्ने गरेर ‘तपाईंजस्ता पीडितको मुक्तिका निम्ति हिँडेको’ भनेपछि आफ्नो मुक्ति यही पार्टीबाट मिल्छ भनेर संकटकालमा सानो छोरालाई छाडेर पार्टीतिर लागेको उनले बताइन् । मान्छे भएपछि जिन्दगीमा एकचोटि मर्नैपर्छ भन्दै आफूलाई नाम कमाएर मुक्तिका लागि मर्ने विचार पलायो । युद्धमा लागिपर्दा उनलाई रातभर छोराको यादले सताउने गथ्र्यो । तर पनि उनी लागिपरिन् । भनिन्–त्यतिबेला मैले घरमा पाकिरहेको ढिडो छाडेर हिँडेकी थिए“ ।
पार्टी संगठन मोर्चाको नेतृत्व गर्दै हिँड्ने राधिका बिस्तारै थाकिन् । उनका ठेलामा नबिकेर यसै बसेका तरकारी जस्तै । सोचेको सपना पूरा भएन । ‘हाल नेताहरुको अबस्था हेरेर आफ्नो अबस्था देख्दा बेकार हिँडेछु जस्तो लाग्छ,’ उनले भनिन्–जसरी सपनाहरु देखेर माथि पु¥याएका थियो, त्यो सपना पूरा भएन ।
उनले आफू पार्टीको आश गरेरमात्र नहुनाले बालबच्चाको व्यबस्थापनको निम्ति पार्टी छाडेर ब्यापार व्यबसाय गरिरहँदा पनि आर्थिक अबस्था नाजुक भएको र पार्टीले सडकछाप बनाइदिएको उनले दुःखेसो पोखिन् । पहिला आफू गाउँ/समाजमा गएर प्रशिक्षण दिएकी राधिकालाई झुटो कुरा गरेजस्तो लागेको छ ।
आफूलाई चिनजानका साथीभाइले सडकमा किन यसरी हिँडेको भन्दै सोध्ने गरेका उनले बताइन् । सँगै युद्धमा लागेका राधिकाका साथीहरु कोही सांसद् तर कोही मन्त्री भइसके । तर, उनी सडकमै छिन् । पार्टी भनेको यस्तै रहेछ भन्दै मन बुझाएर उनी बसेको साँघुरो गल्लीमा एक कोठा डेरा लिएर बसेकी राधिकाकाे एक छोरा र एक छोरी छन् ।