राष्ट्रिय सहकारी विकास बोर्डले २५ वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयनका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई बुझाएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले आज मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा बोर्डका सहअध्यक्ष दक्ष पौडेलले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई उक्त रणनीतिक योजना हस्तान्तरण गर्नभयो ।
कार्यक्रममा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संविधानले व्यवस्था गरेको तीनखम्बे अर्थ नीतिको कार्यान्वयनका लागि राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको २५ वर्षे रणनीतिक योजना महत्वपूर्ण हुने विश्वास व्यत्त गर्नुभयो । सहकारी अभियानको विकास, विस्तार र सुदृढीकरणका लागि आफ्नो प्रत्यक्ष सहभागितामा रणनीतिक योजना तयार गरेको जानकारी दिँदै मन्त्री अर्यालले सरकारको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा गर्न गुण्स्तरीय र प्रविधियुक्त सहकारीले उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने पनि विश्वास व्यक्त गर्नुभयो । अबको २५ वर्षमा नेपालको सहकारी कस्तो हुने भन्ने भिजनसहितको रणनीतिक योजना तत्काल कार्यान्वयन गरिने मन्त्री अर्यालले जानकारी दिनुभयो ।