मकवानपुर – बागमती प्रदेशसभाको बैठक आगामी कार्तिक १० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बैठक आगामी कात्तिक १० गतेसम्मका लागि स्थगित भएको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
मुख्यमन्त्री शाक्यको विश्वासको मत लिने प्रस्तावमाथि बिहीबारको प्रदेशसभाको बैठकमा छलफल सुरू भए पनि विश्वासको मत लिने बाँकी प्रक्रिया अर्को बैठकमा मात्रै हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा ठूलो दलको हिसाबले एमालेबाट भदौ २ मा मुख्यमन्त्री बन्नुभएकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गर्नुभएको थियो । यसअघि असोज २४ गते बसेको प्रदेश सभाको बैठकमा अल्पमतमा पर्नुभएकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबल गर्नुभएको थियो ।
बागमती प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनको स्पष्ट बहुमत जुटिसकेको छ । तर, सत्तारुढ एमालेले पार्टीको अधिवेशनलाई कारण देखाउँदै विश्वासको मत लिने प्रक्रियाका लागि समय मागेपछि सभामुखले एक साता ढिलो गरी अर्को बैठक राख्नुभएको जनाईएको छ । बैठकमा धारणा राख्दै विपक्षी गठबन्धन सम्बद्ध दलका नेताहरुले मुख्यमन्त्री शाक्यलाई राजीनामा दिन माग गरेका थिए । प्रदेशसभामा विश्वासको मत लिने प्रक्रियामा जाँदा पनि विश्वासको मत पाउने अवस्था नरहेको भन्दै विपक्षी गठबन्धनका नेताहरुले मार्गप्रशस्त गर्न माग गरेका हुन् । प्रदेशसभामा हाल १०९ (सभामुखसहित) सांसद छन् । त्यसमध्ये गठबन्धनसँग माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जनता समाजवादीका १ गरी ५९ सांसद रहेका छन् ।