मकवानपुर– हेटौंडामा भएको अन्तर शहर राष्ट्रव्यापी चेस प्रतियोगिताको उपाधि आयोजक हेटौंडा उपमहानगरपालिकाले जितेको छ । शनिबार भएको सातौं चरणको खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको हो ।

सातैं चरणको खेलमा १३ अंकसहित प्रथम स्थान हासिल गर्दै हेटौंडा उपमहानगरपालिकाको टिमले उपाधिसँगै नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेको हो । प्रतियोगितामा दोलखा जिल्ला बुद्धिचाल संघले १२ अंकसहित दोस्रो स्थानमा रहँदै एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै १० अंकसहित ललितपुर महानगरपालिकाको टिम तेस्रो हुँदै ५० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । भने ललितपुरको ललितपुर खेलकुद क्लब र महालक्ष्मी नगरपालिकाले क्रमशः ९ र ८ अंकसहित चौथो र पाँचौ स्थानमा रहँदै नगद ३० र २० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा बोर्डको उत्कृष्ट खेलाडी बन्दै हेटौंडा उपमहानगरपालिकाका क्षितिज भण्डारी, रुपेश जैसवाल, सुरवीर लामा, दोलखा जिल्लाको दोलखा बुद्धिचाल संघका मनिष हमाल र नुवाकोटको विदुर नगरपालिकाका आश्चर्य चौधरीले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
हेटौंडा चेस क्लबका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो । समापन कार्यक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, मकवानपुर जिल्ला अध्यक्ष माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको पनि उपस्थिति रहेको थियो ।











