मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय र सीपमुलक शिक्षा अहिले आवश्यक्ता रहेको बताउनुभएको छ । शनिबार हेटौंडा–९, स्थित प्रगती माध्यमिक विद्यालयको २१औं अभिभावक भेलाकाे उद्ङाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले व्यवसायिक र सीपमुलक शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले शिक्षामा परिवर्तन र सुधारका लागि व्यवस्थित खालको अभियान चलाउनु पर्नेमा जोड दिनुभएको छ । अहिलेको शिक्षाले देशमा बेरोजगारी बढाउँदै लगेको तर्क गर्नुहुँदै मुलक शिक्षा प्रदान गर्ने र रोजगारी सृजना हुने खालका शिक्षामा सरकारले प्राथमिकताका साथ काम गरेको बताउनुभयो । उहाँले शिक्षाको विकास बिना समृद्ध नेपाल निर्माण हुन नसकिने हुँदा शैक्षिक क्षेत्रको विकासका लागि सबैको भुमिका र योगदान समेत आवश्यक हुने बताउनुभयो । शैक्षिक क्षेत्रको विकासका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भौतिक विकासलाई मात्रै विकास ठान्ने गरिएको भन्दै वास्तविक विकास शिक्षा कस्तो छ ? भन्ने कुराले निर्धारण गर्ने उल्लेख गर्नुभयो । शिक्षक, अभिभावक, बिद्यार्थी सबै इमान्दार भएमा मात्र गुणस्तरीय शिक्षा प्राप्त हुने उहाँको भनाई थियो । सो अवसरमा उहाँले विद्यालयको शैक्षिक सुधार गर्दै गुणस्तरीय र प्रतिष्पर्धि शिक्षा प्रदान गर्ने तर्फ लाग्न समेत सबैलाई आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, जिसस सदस्य सिता अधिकारी, भुकम्प पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठकलगायत शिक्षक, अभिभावक, विद्यार्थीहरुको सहभागिता थियो । साे अवसरमा मुख्यमन्त्री पाैडेलले आजै प्रगती माविकाे नवनिर्मित भवनकाे उद्ङाटन समेत गर्नुभएकाे थियाे ।