काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले विश्वव्यापी रूपमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार बढ्दै गएको भन्दै स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सचेत रहन आग्रह गरेको छ । मङ्गलवार क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राष्ट्र बैङ्कले चेतनामूलक तथा वित्तीय साक्षरता सम्बन्धी सामाग्री जारी गर्दै सचेत रहन आग्रह गरेको हो ।
छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम हुने राष्ट्र बैङ्कले जनाएको छ । साथै, राष्ट्र बैङ्कले कानुनी झन्झट आउन सक्ने भएकोले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूलाई सूचना मार्फत सचेत गराएको छ । विदेशी मुद्राको सञ्चितिमा नकारात्मक प्रभाव पार्ने क्रिप्टोकरेन्सीको कारोबार र लगानी तथा नेटवर्क मार्केटिङ व्यवसायबाट पुँजी पलायन हुनसक्ने राष्ट्र बैकले औँल्याएको छ ।
विदेशमा रहेका नेपालीबाट नेपाल आउन सक्ने विप्रेषण विदेशमै लगानी हुन सक्ने भएकोले विदेशी मुद्राको सञ्चितिमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ राष्ट्र बैङ्कले भनेको छ ।क्रिप्टोकरेन्सी, त्यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्क मार्केटिङमा आबद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने देखिएकोले युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा पनि नकारात्मक असर पर्ने अवस्था आउन सक्छ भन्दै राष्ट्र बैङ्कले सचेत गराएको छ ।

