मकवानपुर । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले मकवानपुरले पार्टी कार्यालयमा शोक पुस्तिका राखेको छ । एमाले केन्द्रिय कार्यालयमा आज श्रद्धाञ्जली कार्यक्रम गरिएपछि जिल्ला पार्टी कार्यालय मकवानपुरमा शोक पुस्तिका राखिएको हो ।
नेम्वाङको निधनले पार्टीमा ठुलो क्षेति भएको नेम्वाङको निधनले सिङ्गो नेकपा एमाले मकवानपुर स्तब्ध भएको पार्टी अध्यक्ष एकालाल श्रेष्ठले शोक वक्तव्यमा भन्नु भएकाे छ । “कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलन एवम् संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नु भएका कमरेड नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षती भएको छ, यस दुखको घडीमा मृतक कमरेड नेम्वाङ प्रति हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दीक समवेदना व्यक्त गर्दछौं” शोक वक्तव्यमा भनिएको छ ।
शोकलाई शक्तिमा बदल्दै धैर्यधारण गर्नुहुन सम्पूर्ण पार्टी पंक्तिमा श्रेष्ठले आह्वान समेत गर्नु भएकाे छ । नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको आज बिहान १ः५० बजे हृदयघातको कारण निधन भएको थियो । हृदयघातपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो तर चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।