छैटौँ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज आइतवार भएकाे खेलमा पुलिसले बाग्मती प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले हराएको छ ।
पुलिसले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको बाग्मतीले २८ ओभरमा अलआउट हुँदै ९७ रनमात्र बनाउन सक्यो । उसका इशान पाण्डेले सर्वाधिक २४ रन बनाए । यस्तै रामनरेश गिरीले नटआउट २२ रन बनाए । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ तथा करण केसी, गुलसन झा र सागर ढकालले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले १ सय ८ रनको शतकीय पारी खेले । यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन बनाए । आरिफ शेखले ३६ र योगेन्द्रसिंह कार्कीले १६ रन बनाए । बलिङतर्फ बाग्मतीका नन्दन यादवले दुई विकेट लिए । जितसँगै समूह ‘बी’ मा रहेको पुलिस दुई अङ्कसहित शीर्ष स्थानमा उक्लिएकाे छ ।