हेटौंडा– बागमती प्रदेश सरकारले नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि १३ वटै जिल्लामा सर्तकता अभियान थालेको छ । प्रदेशमा संक्रमण फैलन नदिनका लागि सामाजिक विकास मन्त्रालयले उच्चस्तरीय समिति र प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति गठन गरेको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर गोकर्णममणि दुवाडीको संयोजकत्वमा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारी, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डाक्टर वसन्त अधिकारी, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक बद्री खड्का, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर नारायणबहादुर कार्की, सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डाक्टर पुरुषोत्तम सेढाइलगायतको उच्चस्तरीय समिति गठन गरी नेपालको नाका तथा पर्यटकीय क्षेत्रमा विशेष निगरानी बढाइएको छ ।

यस्तै स्वास्थ्य निर्देशक रमेश अधिकारीको संयोजकत्वमा प्रदेशस्तरीय द्रुत प्रतिकार्य समिति गठन गरिएको छ । समितिमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाइ प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, हेटाैंडा अस्पतालका मेडिकल सुपरिटेण्डेट, पशु सेवा कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालय चिकित्सा शाखा प्रमुख सदस्य छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले भाइरसको संक्रमणबाट बच्नका लागि सबैलाई सचेत हुन र स्वस्थ व्यवहार गर्न आह्वान गरेको छ । निर्देशनालयले सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, जेष्ठ नागरिक, दीर्घरोगीलाई भाइरसले छिट्टै प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन र अन्य व्यक्ति सम्पर्कमा आउँदा करिब तीन फिटको दुरी कायम गर्न आग्रह गरेको छ । निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारीले कोरोना भाइरस हावामा एक मिनेट र मानव शरिरमा चौध दिनसम्म मात्रै जिवित रहन सक्ने हुँदा संक्रमण स्वस्थ व्यवहारले नियन्त्रण गर्न सकिने बताउनुभयो । उच्च ज्वरो आउने, स्वासप्रस्वासमा समस्या, लामो समयसम्म रुघाखोकी लागिरहने लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श लिन सुझाव दिएका छन् ।

प्रदेशभित्र रोगको संक्रमण देखिए हेटाैंडा अस्पताल र चितवन अस्पतालमा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाइएको निर्देशनालयले जनाएको छ । अरुसँगै राखेर उपचार गर्दा अन्य मानिसलाई पनि संक्रमण फैलन सक्ने भएकाले दुई अस्पतामा बेडसहित दुई वटा कोठामा उपचारको व्यवस्था गरिएको बताइएको छ । यस्तै संक्रमितलाई परिक्षण गर्दा चिकित्सकलाईसमेत भाइरस सर्न सक्ने भएकाले प्रदेश भरीका सरकारी अस्पतालमा एक थान ‘चिकित्सक बचाउ गाउन’ खरिद गर्न निर्देशन दिइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाका निर्देशक डाक्टर वसन्त अधिकारीले बताउनुभयो । नेपालमा अहिलेसम्म संकास्पद १४ जनाको स्वास्थ्य परिक्षण गर्दा १ जनामा संक्रमण देखिएको डाक्टर अधिकारीले जानकारी दिनुभयाे । चीनबाट कोरोना भाइरस फैलिएकाले नेपालमा पनि संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन शुरु गरिएको उहाँकाे भनाइ छ।