मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–९ स्थित निर्माणाधिन मदन बाल उद्यान (पार्क) को अवलोकन गर्नुभएको छ । शनिबार मुख्यमन्त्री पौडेल, जिल्ला सान्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतले निर्माणाधिन बाल उद्यानको अवलोकन गर्नुभएको हो ।

शनिबार निर्माणाधिन बाल उद्यानको अवलोकन गर्न पुग्नुभएका मुख्यमन्त्री पौडेलले निर्माणाधिन पार्कका बारेमा बिस्तृतमा जानकारी लिनुभएको थियो । निर्माणधिन उक्त उद्यानको अवलोकन गर्दै उहाले निर्माण कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो । उहाँले डिपीआर तयार गरेर कामलाई अगाडी बढाउन समेत निर्देशन दिनुभएको छ । सो क्रममा उहाँले बाल उद्यान निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
हेटौंडा–९ स्थित उक्त बाल उद्यानको बाहिरी पर्खाल, गेट तथा तारबारको काम सम्पन्न भएको छ । करिब ३ हेक्टरको क्षेत्रफलमा निर्माण भइरहेको उक्त उद्यानको डिपिआरको काम अगाडी बढेको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी बताउनुभयो । पार्कमा ९ नम्बर वडा कार्यालयले “श्रममा राहत” कार्यक्रम आयोजना गरेर सरसफाईको काम सम्पन्न गरेको छ, भने ट्रयाक निर्माणलगाएतको काममा अहिले जन श्रमदानमा काम भईरहेको वहाँले बताउनुभयो । वडा कार्यालयले सरकारले जारी गरेको लकडाउनका बेला रोजगारी गुमाएका वडाका नागरिकलाई “श्रममा राहत” कार्यक्रम मार्फत काम गरे वापत खाद्यान्न प्रदान गरेर पार्कमा सरसफाईको काम गराएको थियो ।











