काठमाडौँ– काठमाडौँ उपत्यकामा वैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको संयुक्त बैठकले २९ गते राती १२ बजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसै गरी पुराना जारी गरिएका सबै पासहरू खारेज गरिएका छन् । अत्यावश्यक बाहेकका अरू सबै पास बन्द गर्ने निर्णय भएको छ । साथै स्वास्थ्य सामाग्रीहरू, अक्सिजन सिलिन्डरहरू लुकाइएको भन्ने गुनासोहरू आइरहेकाले बजार अनुगमन तीव्र बनाइने र त्यस्तो पाइएका कडा कारबाही गरिने समेत प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । साथै खाद्यान्न पसलहरू बिहान ९ बजेसम्म मात्र खोल्न दिइने र बेलुका पसलहरू खोल्न बन्द गरिएको समेत उहाँले बताउनुभयो । यसै गरी बैङ्क तथा वित्तीय संस्थामा न्यूनतम जनशक्ति राखेर चलाउन दिने, वाणिज्य बैङ्कहरूको हेड अफिसमा २० प्रतिशत कर्मचारी राखेर चलाउन दिने र शाखा कार्यालयहरू जम्मा २५ प्रतिशत मात्र सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।