अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ । विशाखापटनममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटले हरायो ।
भारतले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । अस्ट्रेलियाका लागि मिचेल मार्सले ६६ र ट्रेभिस हेडले ५१ रन बनाए । मार्सले ६ छक्का र ६ चौका प्रहार गरे । योसँगै अस्ट्रेलिया २ पटकसम्म भारतलाई १० विकेटले हराउने पहिलो टिम बनेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमा १ सय १७ रनमा अलआउट भयो । भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ र अक्षर पटेलले २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ तथा सीन एबोटले ३ र नाथन इलिसले २ विकट लिए ।
आजको जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधवार चेन्नईमा हुनेछ ।
भारतले आज बनाएकाे १ सय १७ रनकाे याेगफल एकदिवसीय क्रिकेटमा घरेलु मैदानमा बनेकाे चाैथाै सबैभन्दा कम याेगफल हाे । घरेलु मैदानमा भारतीय टिमकाे सबैभन्दा कम याेगफल सन् १९८६ डिसेम्बरमा बनेकाे थियाे । श्रीलङ्कासँगकाे कानपुरमा भएकाे एकदिवसीय क्रिकेटमा भारतीय टिमले ७८ रन बनाएकाे थियाे ।
यस्तै सन् १९९३ नाेभेम्बर मा अहमदाबादमा वेस्ट इन्डिजसँग भएकाे एकदिवसीय क्रिकेटमा भारतले १ सय रन बनाएकाे थियाे । सन् २०१७ डिसेम्बरमा धर्मशालामा श्रीलङ्कासँगकाे एकदिवसीय क्रिकेटमा भारतले १ सय १२ रन बनाएकाे थियाे ।