प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैलाउने काम नगर्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सञ्चार एप्लीकेसन जुम मार्फत आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दलहरूको अल्पमत र बहुमतको विवाद आगामी निर्वाचनको परिणामले समाधान गर्न हुनाले अहिले जनतामा निराशा आउने काम नगर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले निराश जनता देशको विकास र अग्रगमनका लागि घातक हुने हुनाले जनतामा आशा जगाउने काम गर्न सबैलाई आग्रह गर्नुभयो ।प्रधानमन्त्री ओलीले अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तथा देशमा भइरहेका विबाद र समस्याहरू एउटा सामान्य झट्का मात्र भएको र छिट्टै देशले नयाँ गति लिने बताउनुभयो । प्रतिनिधि सभा विघटनपछि सत्तारूढ नेकपा विभाजन नभएको तर केही मानिसहरू अलग भएर गएको तथा उहाँहरू प्रतिगमनको यात्रामा रहेको रहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।