काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय द्वारा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज काठमाडौँमा आयोजित मूल समारोह समितिको समुद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपाली दिदी बहिनी र दाजुभाइको सुख र समृद्धिको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले महिलाको हक अधिकार र महिला हिंसा अन्त्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राम्रा प्रयासहरू भएको बताउनुहुँदै प्रभावकारी कार्यान्वयनका लागि राज्यका अङ्गहरू थप सिर्जनात्मक बन्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य नहुने भएकोले यसका लागि संविधानमा उल्लेख भएको न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निमार्ण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले लैङ्गिक विभेदको अन्त्य गर्न महिला र पुरुष दुवै एकजुट हुनुपर्ने बत्ताउनुहुँदै मुलुकले हासिल गरेका उपलब्धिलाई स्थानीय स्तरदेखि कार्यान्वयनमा ल्याए समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले परिवारमा छोरा र छोरी दुबैलाई समान व्यवहार गर्नुपर्ने उल्लेख गर्नुहुँदै महिलालाई हेयका रुपमा हेर्ने परम्परागत दृष्टिकोणलाई सचेतनाका माध्यमबाट अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने असमानता र अन्यायको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले महिलामाथि हुने विभेद र अपमान असभ्यताबाट पैदा हुने भएकाले यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले समाजमा सामाजिक न्याय र समानताको चेत हुनुपर्ने बत्ताउनुहुँदै राज्यका विभिन्न तह र तप्कामा ४१ प्रतिशत महिला सहभागिता हुनु छोटो समयमा मुलुकले गरेको उपलब्धि प्रशंसायोग्य भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता कायम गर्न सरकार प्रतिबद्ध रहेको बत्ताउनुहुँदै मुलुकमा महिलाको पक्षमा आवाज उठाउने योगमायाहरूको इतिहास अन्तर्राष्ट्रिय इतिहास भन्दा कम नभएको उल्लेख गर्नुभयो । पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा प्रधानमन्त्री ओलीले आफु कुन पार्टीको हो भन्ने कुरा अदालतले प्रस्ट पारिदिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले लडाई गरेर मुद्दा गरेर संसद् पुनः स्थापना भएपछि पनि केही साथीहरू संसद्मा नाराबाजीमा उत्रिनु अशोभनीय भएको भन्नुहुँदै सम्मानित संसद्मा मुलुकको विकासका सवालका विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।
समारोहमा प्रतिनिधि सभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेबी पालले महिला हिंसा र महिलामाथि हुने विभिन्न अपराधको न्यूनीकरणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । समारोहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले मुलुकको दिगो आर्थिक विकासका लागि महिलाको सर्वाङ्गीण विकास अपरिहार्य हुने भन्नुहंदै त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था सबैसँग सहकार्य गरिने बताउनुभयो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता ऐन, २०७७ को सार्वजनिक गर्नुका साथै एसिड आक्रमणमा परेका किशोरी मुस्कान खातुनको क्षमता र साहसको मूल्यांकन गर्दै दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो । यस वर्षको १११औँ विश्व महिला दिवसको राष्ट्रिय नारा “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” रहेको छ ।