सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङले प्रतिनिधि सभाको विघटन भएपनि वर्तमान सरकारको वैधता कायमै रहेको र सरकारले नेपालको प्रचलित कानून बमोजिम नै विभिन्न निर्णयहरू गरिरहेको स्पष्ट पार्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरूङले वर्तमान सरकार तथा सरकारका निर्णयहरू माथि संवैधानिक प्रश्न उठ्ने ठाउँ नरहेको स्पष्ट गर्नुभयो ।
मन्त्री गुरूङले लोकतन्त्र, संसदीय व्यवस्था तथा नेपालको वर्तमान संविधानको रक्षाका लागि निर्वाचनमा जानुको विकल्प नरहेको हुनाले चुनावको तयारीमा लाग्न सबैसँग आग्रह गर्नुभयो । उहाँले सडक आन्दोलनमा रहेका दलहरूसँग कुनै राजनैतिक एजेन्डा नभएको र आन्दोलनले नेपालको संविधान तथा राजनैतिक व्यवस्थालाई नै कमजोर बनाउन सक्ने बताउनुभयो । मन्त्री गुरूङले निर्धारित समयमा निष्पक्ष निर्वाचन गराउन सरकार सक्षम र प्रतिबद्ध रहेको बताउनुहुँदै संसद पुनःस्थापनाको माग गरेका राजनैतिक दलहरूले समेत चुनावी एजेण्डा तयार गर्नका लागि मात्रै आन्दोलन गरिरहेको बताउनुभयो ।