राष्ट्रिय सभाको अर्को बैठक यही पुस २३ गते बस्ने गरी सकिएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते दिउँसो १ बजेका लागि बोलाउनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शुक्रबारदेखि राष्ट्रिय सभाको बैठक सुरु भएको हो । यो बैठकमा नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी दलका नेताहरूले आफ्ना मन्तव्य राख्दै प्रतिनिधि सभा विघटन गरिनु दुःखद भएको बताएका छन् । राष्ट्रिय सभाको यो बैठकले संविधान सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको यस प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । स्व. सांसदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न बैठकमा एक मिनेट मौनधारण गरिएको थियो ।
बैठकले प्रतिनिधि सभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी, राष्ट्रिय सभाका पूर्वसदस्यत्रय मेजर दीपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बु र प्रा. डा. राममान श्रेष्ठ, संविधान सभा सदस्यद्वय भीमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधि सभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र वीरबहादुर लामा एवं विसं २०६३र६४ को अन्तरिम व्यवस्थापिका संसदका पूर्वसदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।