मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–६ जोगीतालबाट बिगत दुई महिनादेखि अपहरणमा परेका ४ महिने शिशुको गाउँपालिकाको पहलमा भारतबाट उद्दार गरिएको छ । जोगीतालका सोमबहादुर तामाङ र सीतामाया तामाङको ४ महिने छोरा कृष्ण गत मंसिर ३ गते साँझदेखि अपहरणमा परेका थिए । पारिवारिक नाता पर्ने आफन्तले नै अपहरण गरेर भारतको राजस्थान पु¥याएका शिशुलाई गाउँपालिकाले उद्दार गरेको हो ।

गाउँपालिकाको टिमले राजस्थान हुँदै सिकरको खाङ्गडीबाट शिशुको सकुसल उद्दार गरेको हो । शिशु अपहरणमा परेको दुई महिनापछि मनहरी गाउँपालिकाले उद्दारको लागि टोली बनाएको थियो । नेपाल प्रहरी, माइती नेपाल, एनसीआरसी, मिसन रेस्क्यू अप्रेसन दिल्ली, राजस्तान मुक्ती धारा, सिविन नेपाल लगायतको टोलीले शिशुको उद्दार गरेको हो । अपहरणमा परेका आफ्नो गाउँपालिकाको नागरिकको उद्दार गर्न सकिएको भन्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले खुसी व्यक्त गर्नुभएको छ । ‘शिशुलाई सकुशल उद्दार गरिएको छ । हाम्रो ५ सदस्यीय टोली शिशुलाई लिएर राजस्थानबाट फर्किदैछ’, उहाँले भन्नुभयो, ‘ढिलोमा १९ गतेसम्म टोली नेपाल आइपुग्नेछ । अपहरणको बिषयमा पुष १७ गते जानकारी भएपछि गाउँपालिकाले खोजी कार्यलाई अघि बढाएको थियो । नाता पर्ने मान्छेले लिएर गएको भन्ने जानकारी पाएपश्चात उद्दारका लागि टोली बनाएको थियो । उद्दारको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय भएको थियो ।
गाउँपालिकाको तर्फबाट वडा सदस्य पुस्कर सुवेदी, शिशुको आमा, माइती नेपालका माया लामा तथा प्रहरीको टोली राजस्थान पुगेको हो । मंसिर ३ गते साँझ ६ बजेतिर सुताइ राखेको छोरोलाई कोक्रो र घरमा नभेटिएपछि बालकको बुवाआमा अत्तालिएका थिए । दिउँसो बच्चा खेलाइरहेका आफन्त बस्ने गरेको घरको कोठा खानतलासी गर्दा उनको सामानहरु नभेटेपछि उनैले लगेको हुनसक्ने आशंकासहित प्रहरीमा उजुरी परेपछि खोजीकार्य तीव्रता दिईएको थियो । खोजतलास गर्दा शिशुलाई भारत राजस्तान पु¥याइएको पाईएपछि शिशुको शकुसल उद्दार गर्न सकिएको हो ।