काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्नुभएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा आयोजित विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्नुभएको हो ।
महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेष्णी, एज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार विभिन्न क्षेत्रका सयौँ व्यक्तिलाई प्रदान गरिएको हो । २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा सुशोभन गर्ने भनिएकोमा कार्यक्रम स्थगित भएपछि रोकिएका ४ सय ५० जनालाई पनि आजै पदक वितरण गरिएको छ । सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षमा गृहमन्त्री रामबहादुर थापा, प्रा.डा. मीना वैद्य मल्ल, प्रा. डा. ईन्द्रजित राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोद कुमार श्रेष्ठ र गृह सचिव महेश्वर न्यौपाने सदस्य रहेको विभूषण समितिको बैठकले विभूषित हुने व्यक्तिहरुको नाम तय गरेको थियो ।